समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा, अब कहाँ-कहाँ छ बाँकी ?


काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगको विवरण अनुसार अब देशभरका सबै जिल्ला वा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु भइसकेको छ ।

प्राप्त विवरण अनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ। अन्य चारवटा प्रदेशका केही सीमित निर्वाचन क्षेत्रमा मात्र अब गणना जारी रहेको छ।

कहाँ–कहाँ सम्पन्न भयो मतगणना ?
आयोगको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको मतगणना सकिएको छ।

त्यसैगरी बागमती प्रदेशका रसुवा, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकमा गणना सकिएको छ। कर्णाली प्रदेशका दैलेख, कालिकोट, सुर्खेत, हुम्ला, जुम्ला, मुगु, सल्यान, जाजरकोट, डोल्पा र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला, डडेलधुरा, बझाङ, डोटी, कैलाली, अछाम, बैतडी र बाजुरामा पनि मतगणना कार्य समाप्त भएको छ।

कहाँ–कहाँ जारी छ मतगणना ?
देशका बाँकी ४ प्रदेशका केही सीमित निर्वाचन क्षेत्रहरूमा मात्र मतगणना भइरहेको छ।

कोशी प्रदेश अन्तर्गत इलाम–१, सुनसरी–२, भोजपुर–१ का साथै ओखलढुङ्गा र संखुवासभामा मतगणना जारी छ। प्रदेशका अन्य सबै जिल्ला र क्षेत्रमा गणना सकिएको छ।

मधेश प्रदेशमा धनुषाका क्षेत्र नं १ र २, महोत्तरी–४ र सप्तरी–१ मा मतगणना चलिरहेको छ भने बाँकी सबै जिल्ला र क्षेत्रमा सम्पन्न भइसकेको छ।

गण्डकी प्रदेशमा गोरखाको क्षेत्र नं १ र २ मा मात्र मतगणना जारी छ। कास्की, तनहुँ, लमजुङ लगायतका अन्य सबै जिल्लामा गणना सकिएको छ।

लुम्बिनी प्रदेश यस प्रदेशमा बर्दिया-२ र नवलपरासी पश्चिम–१ मा मतगणना जारी रहेको छ। गुल्मी, दाङ, बाँके, रुपन्देहीलगायतका बाँकी स्थानमा मतगणना कार्य समाप्त भइसकेको छ।

 

प्रतिक्रिया