
रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका व्यक्तिविरुद्ध दायर गरिएको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनहरू सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन्।
सोमबार उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर अदालतमा समय अभाव र पालो नआएका कारण बहुचर्चित यस मुद्दामाथि सुनुवाइ हुन सकेन।
सर्वोच्च अदालतले अद्यावधिक गरेको पेसी सूचीमा तीनवटै रिटको अन्तिम स्थिति ‘हेर्न नभ्याइने’ उल्लेख गरिएको छ।
महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक हितविपरीत मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
रिट निवेदकहरूले महान्यायाधिवक्ताको निर्णय खारेज गर्न र तत्काल कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। सोमबारको इजलासबाट अन्तरिम आदेशबारे छलफल हुने अपेक्षा गरिएको थियो।
यसअघि माघ ६ गते सर्वोच्च अदालतले उक्त मुद्दामा ‘कारण देखाऊ आदेश’ जारी गर्दै अन्तरिम छलफलका लागि बोलाएको थियो। त्यसपछि माघ ८ गते पनि उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो। सोमबार फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि यस मुद्दाको कानुनी प्रक्रिया अझै लम्बिने देखिएको छ।



कागजपत्र |
