
निर्वाचनले संविधान र मुलुकको भविष्य सुरक्षित गर्यो : गृहमन्त्री अर्याल
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकको संविधान, लोकतन्त्र र राजनीतिक भविष्यलाई सुरक्षित बनाएको बताएका छन्।
निर्वाचन सम्पन्न नभएको अवस्थामा देशको राजनीतिक भविष्य, संविधान र मानवता नै गम्भीर जोखिममा पर्न सक्ने उल्लेख गर्दै उनले यस निर्वाचनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका हुन्।
मन्त्री अर्यालका अनुसार सरकारले सबैको अपेक्षाअनुसार विगतका निर्वाचनको तुलनामा अझ सुदृढ र व्यवस्थित ढंगले मतदान प्रक्रिया सम्पन्न गरेको छ। वर्तमान सरकार गठन भएयता मुलुकमा राजनीतिक हिंसा अन्त्य भएको दाबी गर्दै उनले निर्वाचनका क्रममा समेत रगतको एक थोपा पनि नखसेको बताए।
शान्तिपूर्ण वातावरणमा नागरिकहरूले आफ्नो जनमत अभिव्यक्त गर्न पाएको उल्लेख गर्दै उनले यसले नेपाली लोकतन्त्रलाई थप परिपक्व बनाएको बताए।
गृहमन्त्री अर्यालले आगामी दिनमा बन्ने सरकारले भत्काउन नसक्ने गरी सुशासनका बलिया मानकहरू स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्न पाउने गरी राज्यका संयन्त्रहरूलाई प्रभावकारी बनाउनुपर्ने र त्यसलाई आगामी नेतृत्वले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
निर्वाचनपछिको राजनीतिक स्थिरताले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।



कागजपत्र |
