प्रतिनिधिसभा निर्वाचनकाे तयारी अन्तिम चरणमा छ : निर्वाचन आयोग


काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

बिहीबार काठमाडौंमा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग आयोजित छलफलमा आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको जानकारी गराएको हो।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले भन्नुभयो, “आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी काम पूरा भइसकेको छ। आयोग विश्वसनीय र निष्पक्ष निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध छ।” उहाँले निर्वाचनको समयमा जिल्ला–जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिनुभयो।

सचिव राउतले निर्वाचनको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था गरिएको र हाल कुनै सुरक्षा चुनौती नभएको पनि स्पष्ट पार्नुभयो।

त्यस्तै, निर्वाचन खर्च पारदर्शी बनाउने र वित्तीय अनुशासन कायम राख्नका लागि राजनीतिक दल र उम्मेदवारका लागि अलग निर्वाचन खाता खोल्ने अनिवार्य प्रावधान गरिएको जानकारी उनले दिएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि छलफलमा निर्वाचनको स्वच्छ, निष्पक्ष र विश्वसनीय प्रकृति सुनिश्चित गर्न आयोग सक्रिय रहेको र तयारी अन्तिम चरणमा पुगेको बताएका थिए। कूटनीतिक नियोगका प्रतिनिधिहरूले निर्वाचनसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए।

प्रतिक्रिया