
एक साताको खोजीपछि ड्रोनले पत्ता लगायो दुर्घटनास्थल
काठमाडौं- माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन्। परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।
खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका भिरालो तथा खोचहरूमा ड्रोन क्यामेराको प्रयोग गरेको थियो। सोही क्रममा ड्रोन अपरेटर टार्जन लिम्बुले टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा एउटा गाडी अड्किएको देखेका थिए।
ड्रोन अपरेटर लिम्बुले प्रहरीसँगको सहकार्यमा ड्रोनमार्फत खोजी कार्य गरिरहेको बेला सडकबाट करिब ३०० मिटर तल भीरमा गाडी खसेको देखिएको बताए। ड्रोनबाट प्राप्त दृश्यका आधारमा उक्त गाडी दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निरेन काफ्लेको गाडी करिब ३०० मिटर तल भीरमा खसेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फागुन १ गते ड्रोन प्रयोग गरी दुर्घटनास्थल पत्ता लगाइएपछि शव परिवारले बुझिसकेको छ भने गाडी भने हालसम्म दुर्घटनास्थलमै रहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
यस घटनाले नेपालमा ड्रोन प्रविधिको प्रयोगले खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन सकिने देखाएको छ। नेपाल सरकारले ड्रोनसम्बन्धी कार्यविधि (अनम्यान्डेड एरियल भेइकल फ्लाइट प्रोसेड्युर) जारी गरी ड्रोन सञ्चालनका लागि पूर्व स्वीकृति अनिवार्य गरेको छ। पूर्व स्वीकृति बिना ड्रोन प्रयोग गरी तस्बिर वा भिडियो रेकर्ड गरेमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने व्यवस्था छ।
प्रविधिको सही नीति, योजना र व्यवस्थापनका माध्यमबाट यस्ता आधुनिक उपकरणको अधिकतम उपयोग गरी खोजी, उद्धार तथा अन्य सार्वजनिक सेवामा सुधार ल्याउन सकिने भए पनि हाल सरकारी नीति तथा कार्यान्वयनमा अझै सुधार आवश्यक देखिएको छ।



कागजपत्र |
