प्रतिनिधिसभा निर्वाचन: ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन


काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले ३ फागुनभित्र अनिवार्य रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरिसक्नुपर्ने भएको छ।

निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता, २०७९ को दफा ३७ बमोजिम सबै राजनीतिक दलहरूलाई निर्धारित मितिभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको हो।

आयोगका अनुसार दलहरूले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था आचारसंहितामा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी सोही घोषणापत्रका आधारमा मात्र चुनावी प्रचार–प्रसार गर्नुपर्ने प्रावधान राखिएको छ। दफा ३७ को उपदफा (२) अनुसार राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा घोषणापत्र अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, आचारसंहितामा घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयनको प्रगति विवरण प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको आयोगले स्मरण गराएको छ।

निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न र तोकिएको समयसीमाभित्र घोषणापत्र पेस नगरेमा कानुनअनुसार कारबाही हुन सक्ने संकेतसमेत दिएको छ।

प्रतिक्रिया