
राष्ट्रियसभाः नेपाली कांग्रेस बन्यो सबैभन्दा ठूलो दल
काठमाडौं – सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो तर राष्ट्रिय सभाको आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको माघ ११ गते सम्पन्न निर्वाचनले छबर्से कार्यकालका लागि १८ जना सदस्य निर्वाचित गरेको हो । नेपालको संविधान २०७२ को धारा ८६(३) ले राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने व्यवस्था गरेको छ । सोही उपधारामा सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने उल्लेख छ, जस अनुसार २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा एक तिहाइ सदस्यको निर्वाचन भएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एक निर्विरोधसहित नेपाली कांग्रेसका नौ जना सदस्य निर्वाचित भएका छन् । नेकपा (एमाले) का आठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक जना निर्वाचित भए । निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर मधेशको अन्य समूहबाट निर्वाचित भए । राष्ट्रिय सभामा एक मात्र सदस्य रहेको लोसपाका शेखरकुमार सिंहको पदावधि सकिन लाग्दा ठाकुर निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टी नेपालबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि जित्न सकेनन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई तथा राष्ट्रिय जनमोर्चाबाट चार जनाको उम्मेदवारी परे पनि कुनै उम्मेदवार निर्वाचित हुन सकेनन् । माथिल्लो सदनमा नेमकिपाको प्रतिनिधित्व छैन । राष्ट्रिय जनमोर्चाबाट तुलबहादुर विश्वकर्मा एक मात्र सदस्य रहेको समाचार गोरखापत्र दैनिकले छापेको छ,।
कोशी प्रदेशमा अन्य समूहबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए । निर्वाचनबाट प्राप्त मतपरिणाम अनुसार फागुन २१ गतेपछि राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यको सङ्ख्या २४ हुने छ । नेपाली कम्युनिस्ट पार्टी भने दोस्रो ठुलो दलमा धकेलिने छ । नेकपा (एमाले) ले दस जना सदस्यसहित तेस्रो ठुलो दलको हैसियत प्राप्त गर्ने छ । दस जना सदस्य रहेको एमाले यसअघि पनि तेस्रो ठुलो दल थियो । नेकपाका आठ, एमालेका आठ, जसपा र लोसपाका एक/एक र मनोनीत एक गरी १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेबाट सकिँदै छ ।



कागजपत्र |
