
समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै कांग्रेस नेतृ माया राना
‘समानुपातिक भनेको पार्टीको नभई आफ्ना मान्छे व्यवस्थापन गर्ने थलो रहेछ’
काठमाडौं – नेपाली कांग्रेसबाट समानुपातिक सूचीमा परेकी माया रानाले नाम फिर्ता लिने भएकी छिन् । आदिबासी महिलाको तर्फबाट गण्डकी प्रदेशबाट पहिलो नम्बरमा समानुपातिकको सिफारिस भएकी मायाले आफू बन्दसूचीमा प्राथमिकतामा नपरेपछि नाम फिर्ता लिन लागेकी हुन् ।
कांग्रेस संस्थापन पक्षकी रानाले कार्यबहाक सभापति पूर्णबहादुर खड्काकै कारण सूचीबाट नाम फिर्ता लिन लागेको जनाएकी छिन् । मायाले खड्काले पार्टीमा काम गरेको कार्यकर्तालाई भन्दा पनि आफन्त र भुगोललाई नै प्राथमिकता दिने गरेको महसुस आफूले गरेको बताइन् । उनले समानुपातिक प्रणाली भनेको पार्टीमा योगदान गरेकालाई भन्दा आफ्ना कार्यकर्ता व्यवस्थापन गर्ने थलो भएको समेत बताइन् । लामोसमयदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेको राना यसअघि २०६४ सालमा पनि समानुपातिकमा परे पनि सांसद बन्न भने सकेकी थिइनन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ र गण्डकी प्रदेशका नेता मेखलाल श्रेष्ठले रानाको पार्टीप्रतिको योगदानलाई कदर गर्दै गण्डकी प्रदेशबाट समानु्पातिकमा पहिलो नम्बरमा सिफारिस गरे पनि कार्यबहाक सभापतिको मनोमानीका कारण निर्वाचन आयोगमा गएर नाम फिर्ता लिने भएकी हुन् ।
रानाले २०४७ सालमा जनता माध्यमिक विद्यालय, बिर्घाको नेविसंघ इकाइ सभापतिका रूपमा राजनीतिक यात्रा सुरु गरेकी हुन्। २०४९ सालमा नेविसंघ स्याङ्जा जिल्ला सदस्य रहेकी उनी २०५२ सालमा क्षेत्र नं। ३ की क्षेत्रीय सभापति बन्न सफल भइन्।
त्यसपछि उनले तरुण दल स्याङ्जा जिल्ला सदस्य तथा नेपाल महिला संघ जिल्ला सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गरिन्। नेपाली कांग्रेसको ११औँ महाधिवेशनदेखि निरन्तर रूपमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
२०६५ सालमा मगर संघको केन्द्रीय सदस्य रहेकी राना २०७३ सालमा नेपाल महिला संघको निर्वाचित केन्द्रीय सदस्य बनेकी राना २०७४ सालमा गण्डकी प्रदेशसभाको समानुपातिक उम्मेदवार थिइन् । रानाले २०७९ सालमा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएकी थिइन् ।
निर्वाचन आयोगले समानुपातिकको सूचीमा रहेकाहरुले नाम फिर्ता लिन चाहेमा आज ४ बजेसम्मको समयावधि तोकेको छ ।



कागजपत्र |
