
बैतडी जिप दुर्घटना अपडेट : मृतक १३ वर्षीय बालकसहित तीनको सनाखत
बैतडी- बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान करिब १० देखि साढे १० बजेको समयमा जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ को विजयपुर–साँडीघाटी नजिक झैलेक भिरमा दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको हो। दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–२ का २८ वर्षीय भान देव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा सवार अन्य यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको र उनीहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्। दुर्गम भिरालो सडक र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।



कागजपत्र |
