समानुपातिक बन्दसूचीमा त्रुटि, सच्याउन निर्वाचन आयोगकाे निर्देशन


काठमाडौं-  निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले पेस गरेको उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई सूचीमा रहेका त्रुटि सच्याउन आग्रह गरिएको हो । आयोगले दलहरूले बुझाएको बन्दसूचीमा समावेश नामहरूको क्लस्टर प्रतिशत परीक्षण गर्दा विभिन्न त्रुटि फेला परेको जनाएको छ ।

आयोगका अनुसार कतिपय सूचीमा एउटै व्यक्तिको नाम दुई फरक क्लस्टरमा समावेश भएको पाइएको छ । साथै, एउटा क्लस्टरमा पर्नुपर्ने व्यक्तिको नाम अर्को क्लस्टरमा राखिएको जस्ता समस्या देखिएका छन् । यस्ता त्रुटि नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलहरूको सूचीमा फेला परेका छन् ।

केही दलले बुझाएको बन्दसूचीमा उम्मेदवारको हस्ताक्षरसमेत नरहेको पाइएको छ । त्यस्तै, पिछडिएको क्षेत्रअन्तर्गत नाम समावेश गरिएका व्यक्तिको नागरिकता जाँच गर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ । यी लगायतका विषय प्रष्ट पार्न र नमिलेका विवरण सच्याउन आयोगले दलहरूलाई इमेलमार्फत जानकारी गराएको हो ।

गत पुस १३ र १४ गते राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गरेका थिए । ती सूचीको अध्ययनपछि आयोगले आइतबार देखिएका त्रुटि सच्याउन दलहरूलाई निर्देशन दिएको हो ।

सूचना अधिकारी घिमिरेका अनुसार आजदेखि दलहरूले आयोगले औंल्याएका त्रुटि पुस २७ गतेसम्म सच्याउन सक्नेछन् । समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि पुस २८ गते समय तोकिएको छ ।

यदि कुनै उम्मेदवारले नाम फिर्ता लिएमा त्यसको जानकारी आयोगले सम्बन्धित राजनीतिक दललाई पुस २९ गते दिनेछ । नाम फिर्ताका कारण रिक्त हुन गएको स्थानमा सोही समूह वा क्लस्टरबाट अर्को उम्मेदवार मनोनयन गरी त्यसको नामावली सम्बन्धित दलले पुस ३० गते आयोगमा पेस गर्नुपर्नेछ ।

आयोगको कार्यतालिका अनुसार त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली सार्वजनिक गरिनेछ । आगामी माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन भएपछि त्यसमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दावी–विरोध गर्न सकिने व्यवस्था गरिएको छ ।

दावी–विरोधका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्म समय तोकिएको छ । माघ ११ देखि १७ गतेसम्म दावी–विरोधका निवेदनमाथि जाँचबुझ गरी आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिनेछ । आगामी फागुन २१ गते मतदान हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया