लहानका सुनचाँदी व्यावसायी विश्वकर्मा हत्याः घाइते भएकी पत्नीको बयान यस्तो छ
काठमाडौं– शनिबार राति सिरहाको लहानमा लुटेरा समूहको आक्रमणबाट सुनचाँदी व्यवसायीको हत्या भयो। त्यस्तै उक्त घटनामा मृतककी श्रीमती समेत घाइते भएकी छन्।
लहान नगरपालिका–२३ स्थित कोठा भाडामा लिएर सुनचाँदी पसल सञ्चालन गरेका ४० वर्षीय प्रदीप विश्वकर्माको हत्या भएको हो। घटनामा उनकी श्रीमती ३७ वर्षीया अमिता गम्भीर घाइते भएकी छन्।
लहानस्थित सप्तऋषि अस्पतालमा उपचार गराइरहेकी अमिताले डड्याङडुडुङ गर्दै आएका हतियारधारी समूहहरूले एक्कासी ढोका फोडेर आक्रमण गरेको बताइन्।
‘केहीले गोली हान्थ्यो, केहीले खुकुरी नचाउँथे,’ अस्पतालको बेडबाट अमिताले सुनाइन्, ‘अचानक भित्र पसेका उनीहरुलाई मेरा श्रीमान्ले रोक्न खोज्दा टाउकोमा खुकुरी हान्यो। अनि छातीमा दुई गोली हानेपछि मेरो श्रीमान ढले।’
श्रीमानलाई बचाउन जाँदा उनीहरूले हातमा खुकुरी प्रहार गरेर आफूलाई समेत घाइते बनाएको उनले बताइन्। अमिताले भनिन्, ‘हजुर, सबै सामान दिइहाल्छु मलाई नमार्नुस् भन्दा पनि उनीहरूले खुकुरी हान्यो।’
अन्धाधुन्ध गोली र खुकुरी प्रहार गरेर लुटेराहरू भागेपछि बाहिर निस्केर छिमेकीहरुलाई गुहारेको अमिताले सुनाइन्। ‘त्यतिबेलासम्म मेरो श्रीमानको प्राण गइसकेको थियो,’ उनले भक्कानिँदै भनिन्।
विश्वकर्मा दम्पतीले लहान–२३ का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गर्दै आइरहेका थिए।
सुनचाँदी लुट्न गएको समूहले प्रदीपको टाउकोमा खुकुरी प्रहार गरेको र छातीमा दुई गोली हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक (डिएसपी) तपनकुमार दाहालले जानकारी दिए।
डिएसपी दाहालका अनुसार श्रीमान प्रदीपलाई बचाउन खोज्दा अमिताको हातमा लुटेरा समूहले खुकुरी प्रहार गरको घाइते बनाएको छ।
घटना शनिबार राती १२ बजेतिरको हो। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र सुरेशकुमार सहनी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुले घटनाबारे स्वीकार नगरे पनि घटनामा उनीहरुको हात रहेको आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्वसाधरणको भीड लागेकाले अहिले घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन। घटनापछि स्थानीय शोकमा डुबेका छन्।