
जेनजी आन्दोलन छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चले फैसला सुनाउँदै
काठमाडौं – सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध दायर रिटमा आज निर्णय सुनाउने भएको छ।
उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले शुक्रबार फैसला सुनाउने तय भएको हो। यसअघि सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै सम्बन्धित पक्षसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
अधिवक्ता विपिन ढकालले जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा आयोगको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यका रूपमा कुनै पनि कार्य नगर्न वा नगराउन अन्तरिम आदेशको माग गरिएको छ।
जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। तर, रिट निवेदकले आयोगका पदाधिकारीहरूले छानबिनसँग सम्बन्धित विषयमा पहिले नै सार्वजनिक रूपमा धारणा व्यक्त गरिसकेको र पूर्वाग्राही देखिइसकेकाले उनीहरूको नेतृत्वमा हुने अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने जिकिर गरेका छन्।



कागजपत्र |
