भारतमा रहेका राजा ज्ञानेन्द्रसँग आरएसएस प्रमुख मोहन भागवतको भेट जुरेन, कारण यस्तो छ


काठमाडौं– शाही स्नानका लागि हरिद्वारमा पुगेका राजा ज्ञानेन्द्र शाहसँग भारतीय हिन्दूवादी संगठन राष्ट्रिय स्वयम् सेवक (आरएसएस) दलका प्रमुख मोहन भागवतको भेटवार्ताको कार्यक्रम रद्द गरिएको छ।

भारतीय जनता पार्टी तथा सरकारको सहयोगी विश्वकै ठूलो हिन्दूवादी संस्थाका प्रमुख भागवतलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि भेटवार्ता रोकिएको हो। भागवत अहिले आइशोलेसनमा रहेर उपचारमा छन्।

यसैबीच सोमबार ज्ञानेन्द्रले राजाको हैसियतमा १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेलामा शाही स्नान गर्न लागेका हुन्। पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित उनी हरिद्वार पुगिसकेका छन्।

उनलाई भारत सरकारले उच्च तहको सुरक्षा प्रदान गरेको छ। उत्तराखण्ड सरकार र उत्तर प्रदेश सरकारले पनि उनलाई सुरक्षा प्रदान गरेको छ।

शाही रथमा सवार भई उनी स्नानका लागि जाने कार्यक्रम तय भएको छ। प्रमुख अतिथिको हैसियतमा राजा ज्ञानेन्द्रलाई उक्त सम्मान दिइएको हो।

उनी नयाँ दिल्ली हुँदै हरिद्वार पुगेका हुन्। नयाँ दिल्लीमा एक दिन बसेका ज्ञानेन्द्रले उच्चस्तरीय राजनीतिक भेट समेत गरेको उच्च स्रोतको दाबी रहेको छ।

उनलाई भारतीय जनता पार्टीका उच्च तहका नेता, नेपाल मामिला हेर्ने महासचिवलगायतले भेट गरेको बताइएको छ। यद्यपि उक्त विषयको पुष्टि निर्मलनिवासले गरिसकेको छैन।

प्रतिक्रिया