घरमा ढुंगा खस्दा चारजना घाइते


हुम्ला-  सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा गएराति भिरबाट अचानक ढुंगा खस्दा घरभित्र रहेका चारजना घाइते भएका छन् ।

सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र‎ सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए ।

“सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । लालसराको टाउकोमा र उनकी छोरीको निधारमा चोट लागेको छ । प्रवीणाको पनि टाउकोमा चोट लागेको छ”, उनले भने ।

‎राति घरमाथि रहेको जंगलबाट ढुंगा खस्दा घरभित्र रहेका चारजना घाइते भएका जनाउँदै सूचना अधिकारी खड्काले सरिताको उपचार स्थानीय स्वास्थ्य चौकीमा हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको बताए । उनका अनुसार अन्य तीनजनालाई सामान्य चोट लागेकाले उपचार पनि घर फर्काइएको छ ।

सो बस्ती माथिबाट ढुंगा खस्ने जोखिममा पर्दै आएको छ । यसअघि पनि सो स्थानमा ढुंगा खस्दै आएको स्थानीय प्रकाश शाहीले बताए ।

प्रतिक्रिया