नालामा फालिएको अवस्थामा भेटिइन् नवजात बालिका


कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–८ स्थित भद्र टोलको नालाकिनारमा आज बिहान करिब ९ः१५ बजे नवजात शिशु (बालिका) फेला परेकी हुन्।

स्थानीयले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शिशुको उद्धार गरेको जनाएको छ।

उद्धार गरिएकी शिशुलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ। हाल शिशुको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शिशुलाई नालाकिनारमा फाल्ने व्यक्ति वा व्यक्तिहरूको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया