पाँचखाल–१० मा महिला समूहलाई बाख्रा वितरण


काभ्रे- पाँचखाल नगरपालिका वडा नं. १० मा स्थानीय महिला समूहलाई लक्षित गर्दै बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रामीण महिलाको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता अभिवृद्धि तथा पशुपालनमार्फत आम्दानी बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम अमेरिकन आर स्टार फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको हो। सो अवसरमा श्री महाङ्काल पशुपालन समूह ‘ग’ का २५ जना सदस्यलाई प्रति सदस्य २/२ वटा बाख्रा गरी जम्मा ५० वटा बाख्रा वितरण गरिएको छ।

बाख्रा वितरण कार्यक्रममा आर स्टार फाउन्डेसनकी निर्देशक अमेरिकी नागरिक रोस्लिन रुसिल, संस्थाका नेपाली प्रतिनिधि रबिन्द्र सिटौला, समाजसेवी दीपक सापकोटा लगायतको उपस्थिति रहेको थियो।

बाख्रा प्राप्त गरेका महिला समूहका सदस्यहरूले पशुपालनले दीर्घकालीन आम्दानीको स्रोत तयार गर्ने विश्वास व्यक्त गरेका छन्। उत्पादनमुखी यस्ता कार्यक्रमले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

आर स्टार फाउन्डेसन सन् २००२ देखि नेपालमा आर्थिक रूपमा कमजोर तथा अशक्त परिवारलाई लक्षित गर्दै सहयोग गर्दै आएको छ। संस्थाले पाँचखाल–१२, नमोबुद्ध–११ स्यामपाटी लगायतका क्षेत्रमा विभिन्न महिला समूहलाई बाख्रा वितरण गर्दै आएको जनाएको छ।

हालसम्म पाँचखाल–१० मा मात्र तीन वटा महिला समूहलाई गरी १५० वटा बाख्रा वितरण गरिसकेको फाउन्डेसनले आगामी दिनमा नयाँगाउँ, लुइँटेलगाउँ र रानीपानीका आर्थिक रूपमा कमजोर कृषकलाई पनि सहयोग विस्तार गर्ने प्रतिबद्धता संस्थाका नेपाली प्रतिनिधि रबिन्द्र सिटौलाले व्यक्त गरे।

प्रतिक्रिया