
कार्यभार सम्हाल्दै हितेन्द्रदेव शाक्यले भने – अब सरकारसँग मिलेर काम गर्छु
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतको आदेशपछि पुनः पदमा फर्किएका छन्। अदालतले आफूलाई हटाउने तत्कालीन उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको प्रस्ताव ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ठहर गर्दै पुनर्बहालीको आदेश दिएपछि शाक्य बुधबार प्राधिकरण पुगेका हुन्।
शाक्यले कार्यभार सम्हाल्दै आफूले न्याय पाएर फेरि काममा फर्किएको बताउँदै अबको बाँकी साढे तीन वर्ष प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउन लाग्ने बताएका छन्। उनले भने, “अबका दिनमा सरकारसँग मिलेर उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु।”
यसअघि मन्त्रीपरिषद्को निर्णयअनुसार शाक्यलाई प्राधिकरणबाट जल तथा उर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। त्यो निर्णयलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार उल्ट्याएको हो।
अदालतले मन्त्री घिसिङका प्रस्तावहरूलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र स्वेच्छाचारी ठहर गरिँदै शाक्यलाई एमडीमा पुनर्स्थापित गर्न आदेश दिएको थियो।
शाक्यले अदालतले यसपटक समयमै सुनुवाइ गरेको कारण आफूले न्याय पाएको बताए। उनले भने, “पहिले ३५ पटकसम्म पेसी सारिँदा अन्यायमा परेको थिएँ। यो पटक भने समयमै सुनुवाइ भयो र न्याय पाएँ।”
प्राधिकरणमा तीन दशकभन्दा बढी समय बिताएका शाक्यले आफूलाई पटक–पटक राजनीति तथा दबाबका कारण आक्रमण हुनुपरे पनि नआत्तिएको बताए। उनका अनुसार, अब प्राधिकरणले आफैले विद्युत् उत्पादन बढाउने दिशामा सक्रिय कदम चाल्नेछ। “विगतका वर्षमा निजी कम्पनीमार्फत मात्रै उत्पादन भयो। अब प्राधिकरण आफ्नै उत्पादन बढाउन लाग्दैछ,” उनले भने।



कागजपत्र |
