गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

दुवै पक्षबीच भएको छलफलमा राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा निर्वाचन सुरक्षा व्यवस्थासहित शान्ति–सुरक्षाका विषयमा विस्तृत कुराकानी गरिएको छ।

राजदूत श्रीवास्तवले भारतले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तर सकारात्मक र सुमधुर रूपमा अघि बढाइरहेको उल्लेख गर्दै, निर्वाचन सफल बनाउन आवश्यक भूमिकामा भारत सदैँ सहयोगी रहन्छ भन्ने धारणा राखे।

सो अवसरमा मन्त्री अर्यालले देश संवेदनशील अवस्थामा रहेको बताउँदै शान्ति–सुरक्षा, सुशासन र भ्रष्टाचारमुक्त सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट गरे। उनले फागुन २१ को निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारले अहोरात्र तयारी गरिरहेको जानकारी दिए।

मन्त्री अर्यालले भारतप्रति प्रकट गरिएको मित्रवत भावनाप्रति धन्यवाद दिँदै नेपाल–भारत सम्बन्ध निरन्तर मजबुत रहने बताए। साथै खुला सीमाका कारण निर्वाचनअघि र निर्वाचनका समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।

प्रतिक्रिया