
मनाङमा सम्पर्कविहीन दुई भारतीय नागरिकको शव फेला
काठमाडौं– कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षिया प्रियन्सा कुमारी पटेलको शव मनाङमा फेला परेको छ।
आइतबार दिउँसो करिब २ बजे मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट उनीहरू कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाने योजना बनाएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन भएपछि होटलले सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो।
सशस्त्र प्रहरी डीएसपी शैलेन्द्र थापाका अनुसार प्रारम्भिक खोजी प्रयासमा उनीहरू भेटिएका थिएनन्। त्यसपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा उद्धार टोली खटेर खोजी गरेको थियो।
उद्धार टोलीले मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएका दुवै शव फेला पारेको छ।



कागजपत्र |
