
ओलीले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने तयारी
काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी थालेको छ। यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद् बैठकमा गरिने अपेक्षा गरिएको छ। बैठक हाल जारी छ।
सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूको सूचीमा चीनका लागि कृष्णप्रसाद ओली, भारतका लागि डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, र रूसका लागि जंगब चौहान रहेका छन्।
त्यसैगरी, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल र साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल पनि फिर्ता बोलाइने सूचीमा रहेका छन्।
स्रोतका अनुसार, केही राजदूतहरूसँग फिर्ता बोलाउने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको छ। सरकारले यस कदममार्फत् विदेशस्थित नेपालको कूटनीतिक नेतृत्वमा नवीनता र प्रभावकारी व्यवस्थापन ल्याउने लक्ष्य राखेको बताइएको छ।



कागजपत्र |
