अष्ट्रेलियन पर्यटकको पासपोर्ट बाँदरले लग्यो


पोखरा-  अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक पर्यटकको पासपोर्ट बाँदरले लगेको छ। पर्वतको कुश्मा नगरपालिका नजिक रहेको बन्जी जम्प क्षेत्रबाट उक्त घटना भएको हो।

पर्यटकका अनुसार गाडीको छतमा राखिएको झोलाबाट बाँदरले पासपोर्ट लिएर भिरतिर भागेको थियो। सो झोलामा अष्ट्रेलियन नागरिकको मात्र नभई नेपालकै अर्को एक पर्यटकको पासपोर्ट पनि थियो।

घटनाबारे जानकारी पाएपछि प्रहरीले खोजी कार्य सुरु गरेको पर्वतका प्रहरी प्रमुख डीएसपी विजय यादवले बताए। उनका अनुसार शनिबार र आइतबार गरी दुई दिन खोजी गर्दा पनि पासपोर्ट फेला परेको छैन।

‘उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ। कुश्मामा बन्जी जम्प हेर्न रोकिँदा झोला गाडीको छतमा राखिएको रहेछ,’ यादवले भने, ‘तर फर्किँदा झोला हराएको र बाँदरले लगेको जानकारी दिनुभयो।’

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको टोली खोजतलासीमा खटिएको थियो। उक्त पासपोर्टसहितको झोला नभेटिएपछि दुवै पर्यटकले प्रहरीमा औपचारिक निवेदन दर्ता गरेका छन्। प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ।

 

प्रतिक्रिया