खुल्यो नौबिसे-मुग्लिन सडक, तुइन खोलाको पहिरो हटाइँदै


काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर, डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम जारी छ ।

सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया