
राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर नेताहरुका घरमा आगजनी, क–कसका घर जले ?
काठमाडौं – जेनजीहरुको प्रदर्शनको दोस्रो दिन देशभर आगजनीका घटना भइरहेको छ ।
सोमबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि राजधानीमा १९ जना र इटहरीमा २ जना गरी २१ जनाको ज्यान गएपछि मंगलबार प्रदर्शन देशैभर चर्किएको छ ।
सरकारले अधिकांश मुख्य सहरहरुमा कर्फ्यु घोषणा गरे पनि त्यसको परवाह नगरी आन्दोलनकारीहरु सडकमा निस्किएका छन् ।
प्रदर्शनकारीहरुमाथि गरिएको गोली प्रहारको आक्रोशपछि विरोधस्वरुप आगजनी र तोडफोडका घटना भइरहेको छ ।
राजधानीमा नेपाली कांग्रेस, नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी भएको छ भने पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आगजनी भएको छ ।
त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवासमा पनि आजगनी गरिएको जनाइएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा पनि आगजनी भएको छ ।
त्यस्तै निवर्तमान गृहमन्त्री रमेश लेखक निवास, ऊर्जामन्त्री दीपक खड्का, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा पनि आगजनी भएको छ ।
त्यस्तै कांग्रेस नेता विमलेन्द्र निधीको घरमा पनि आगजनी गरिएको जनाइएको छ भने गगन थापाको निवास अगाडि ढुंगामुढा गरिएको छ ।
त्यस्तै परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित घरमा पनि आगजनी गरिएको जनाइएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको झापास्थित घरमा पनि आगजनी गरिएको छ भने उर्जामन्त्री खड्काको संखुवासभास्थित घर पनि तोडफोड र आगजनी गरिएको छ ।
त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाको हेटौंडास्थित निवासमा आगजनी गरिएको छ ।



कागजपत्र |
