बैतडीमा लगातार भारी वर्षा, राती गाडी चलाउन रोक


बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले लगातारको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरिएको छ। यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।

‘अविरल वर्षा भइरहेको सन्दर्भमा यात्रा नगर्न र विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौँ’, पौडेलले भने।

विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ। बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गरे।

 

प्रतिक्रिया