पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति


काठमाडौं-  नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। आइतबार मन्त्रालयमा महासङ्घका पदाधिकारी र मन्त्रालयका अधिकारीबीच भएको छलफलपछि सहमतिपत्र तयार भएको हो।

सहमतिको पहिलो बुँदामा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ।

दोस्रो बुँदामा अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ अनुसार दर्ता भएका अनलाइन सञ्चारमाध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र (पुष महिनाभित्र) अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने प्रावधान कायम रहने उल्लेख गरिएको छ।

तेस्रो बुँदामा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको काम यथावत् राख्ने सहमति गरिएको छ।

चौथो बुँदामा मन्त्रालयले यस विषयमा आवश्यक पत्राचार गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया