डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु


धनगढी – डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सदरमुकामतर्फ आइरहेको से १ ज ७३८ नम्बरको जिप नवदुर्गा गाउँपालिका–५ को चौडस्थित सडकमा बिहीबार बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको जनाए । जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी निरीक्षक विष्टले बताए ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया