
अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा
काठमाडौं– पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो ।
सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम भई रहेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिए ।
ग्याविन पर्खाललगायतका अन्य संरचनाको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको जैसीले बताए। सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन जारी राखेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारिसाधन सञ्चालन गरिएको र आज अपरान्हदेखि ठूला सवारीसाधनसमेत सञ्चालन हुन थालेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानले जानकारी दिए ।
यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरू अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जनाए।
दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरू नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।



कागजपत्र |
