भिसा दुरुपयोग गर्दै धर्म प्रचारमा संलग्न तीन इन्डोनेशियाली नियन्त्रणमा


काठमाडौं – भिसाको उद्देश्य विपरीत नेपालमा बस्दै शंकास्पद गतिविधि सञ्चालन गरेको आरोपमा तीन इन्डोनेशियाली नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल आएकी एक महिलाले ललितपुरको धोबिघाटस्थित ‘हिमालय शिक्षा तथा हितेशी समाज’मार्फत गर्ल्स होस्टेल सञ्चालन गर्दै टर्कीस भाषा र कुरान पढाउने तथा मुस्लिम धर्म प्रचारप्रसार गर्ने कार्य गर्दै आएकी थिइन्। सोही संस्थामा अन्य दुई इन्डोनेशियालीलाई शिक्षकको रूपमा राखिएको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

ती महिलामध्ये एकले पर्यटक भिसा र अन्य दुईले अध्ययन भिसा लिएका थिए। अध्यागमन विभागको टोलीले उनीहरूलाई करिब ५० जना छात्रालाई कुरान पढाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

विभागका अनुसार उनीहरूले अन्य कुनै शैक्षिक संस्थामा अध्ययन नगरी नेपालमै होस्टेल सञ्चालन र धार्मिक गतिविधि सञ्चालन गरेको पाइएकाले थप अनुसन्धान भइरहेको छ। विभागले उनीहरू अध्ययन वा पर्यटन प्रयोजनका लागि आएको भए पनि रोजगारी तथा धर्म प्रचारमा संलग्न भएको ठहर गर्दै कारबाही अघि बढाउने जनाएको छ।

 

प्रतिक्रिया