
पर्सा कारागारमा कैदीको मृत्यु: छानबिनका लागि पाँच सदस्यीय समिति गठन
जनकपुरधाम – पर्सा कारागारमा एक कैदीको मृत्यु भएको घटनामा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राहुल साहको मृत्यु भएको हो।
साहको मृत्यु प्रहरी र स्थानीय प्रशासनको लापरबाहीका कारण भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए। यसपछि सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा डीएसपी किशोर लम्साल, वडा नं. २५ का वडा सदस्य जगदीश साहसहितको पाँच सदस्यीय छानबिन समिति बनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। प्रशासनले मृतकका आफन्तसँग छलफल गरी निष्पक्ष छानबिन गर्ने सहमति जुटाएपछि उपचार भइरहेको नारायणी अस्पतालको अवस्था सामान्य बनेको जनाएको छ।
मृतक साह ५ वर्षदेखि सजाय काट्दै आएका थिए।



कागजपत्र |
