पिता निधनपछि किरिया बसेकी उपमेयरलाई नै ‘बहिष्कार’को चेतावनी, तीन दिदी–बहिनी नै बसे किरिया


काभ्रे – राजधानीसँगै जोडिएको काभ्रेको बनेपा नगरपालिकाकी उपमेयर बिमला सापकोटा यतिबेला पितृशोकको पीडामा रहेकी छिन् ।

उनका ९१ वर्षीय बुवा हरिप्रसाद सापकोटाको आइतबार निधन भएपछि दाजुभाई नभएका बिमलाका दिदीबहिनीहरुले आफैं दागबत्ती दिए । त्यसपछि काजकिरिया समेत आफैं थालेपछि उनका केही आफन्त र दाजुभाईहरुले सामाजिक बहिस्कार जस्तै व्यवहार देखाएका छन् । तर, केही आफन्तहरुले स्वीकार नगरे पनि उनीहरुले किरिया सुरु गरेका छन् ।

बिमलाका साथै उनकी दुई बहिनीहरु निर्मला र राधिका पनि छोराले जस्तै गरेर काजकिरिया बसेका छन् । तर, केही आफन्तहरुले उनीहरुलाई बहिस्कार गर्ने चेतावनी दिएको थाहा पाएपछि उपमेयर बिमलाले चेतावनी स्वरुप १३ बुवाको काजकिरिया गर्न माग गर्दै सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने बताउँदै सामाजिक सञ्जालमा आप्mनो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् ।

उनी लेख्छिन्, ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र सबिधानको पनि बर्खिलाब छ ।हामीले गरेको यो कामले हजारौं छोरि माथि न्याय हुनेछ ।खबरदार यो छ्लफल र बहस रोकि हाल हामि बहिसकार हुन तयार छौ ।

उनी अगाडी लेख्छिन्, ‘१३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पिडा नदेउ, १३ दिन पछि सधाको लागि माइतिको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्ने हरु कृपया हामिलाइ साथ दिनु पर्ने बाध्यता नसमझनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

किरिया बसेका बिमलाबाहेककी राधिका नेकपा एमाले धादिङ जिल्ला कमिटीकी सचिव हुन् भने निर्मला शिक्षिका हुन् ।

समाजमा उदाहरणीय रहेका तिन दिदीबहिनीको यो पछिल्लो कदमलाई अधिकांशले प्रसंसा गरेका छन् । समाजलाई चेतना दिने उद्देश्यसहित पीडालाई शक्तिमा बदल्दै उनले संविधान र कानुनविपरित महिलामाथिको भेदभाव चिर्नका लागि आफू बहिष्कार हुन तयार रहेको जनाएका छन् ।

 

 

प्रतिक्रिया