
असोज १ देखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौं- आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सबै प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको सहभागिता थियो।
अबदेखि सवारी दर्ता, नामसारी र नवीकरणको कार्यमा इम्बोस्ड नम्बर प्लेट जडान नगरी सेवा नपाइनेछ। यातायात व्यवस्था कार्यालयहरूमार्फत यो कार्यान्वयन हुनेछ भने यातायात व्यवस्था विभागले आवश्यक प्राविधिक सहयोग पुर्याउनेछ। गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालन गरेर नियमनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ।
भदौदेखि स्मार्ट लाइसेन्स छपाइ सुरू गर्ने तयारी
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइका लागि सुरक्षण मुद्रण ऐन, २०८१ को दफा ९ अनुसार जेठ ९ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसअनुसार, भदौदेखि छपाइ सुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गरिने बैठकले निर्णय गरेको छ।
यसै सन्दर्भमा, कोशी, बागमती र गण्डकी प्रदेशले चालक अनुमतिपत्र छपाइका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको हुँदा कार्य प्रारम्भका लागि केन्द्रले अनुमति दिनुपर्ने उल्लेख गरिएको छ।



कागजपत्र |
