
जारको पानीमै कोलिफर्म भेटिएपछि सांसद गौतमको सरकारलाई चेतावनी
काठमाडौं – नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरी क्षेत्रमा वितरण हुने जारको पानीमा ढलजन्य प्रदूषण भेटिएको भन्दै जनस्वास्थ्यको जोखिममा गम्भीर चासो व्यक्त गरेकी छन्।
सोमबार (साउन १९) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नागरिकले पिउने भनेर सुरक्षित ठानेको पानी नै रोगको कारण बन्न थालेको भन्दै तत्काल सरकारी हस्तक्षेप आवश्यक रहेको बताइन्।
“ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको छ,” उनले भनिन्, “यसले पिउने पानीमै ढलजन्य पदार्थ मिसिएको पुष्टि गर्छ। यस्तो पानी रोग फैलाउने मुख्य कारक बन्न थालेको छ।”
सांसद गौतमका अनुसार हाल अस्पतालहरूमा झाडापखाला, टाइफाइड, भाइरल हेपाटाइटिसलगायत सरुवा रोगका बिरामी तीव्र रूपमा बढेका छन्। “गत वर्ष यस्तै लापरवाहीका कारण हैजाको प्रकोप देखिएको थियो,” उनले चेतावनी दिँदै भनिन्, “यसपालि पनि मनसुन सुरु भइसकेको अवस्थामा महामारीको खतरा अझ बढेको छ।”
उनले पानी आपूर्ति गर्ने कम्पनीहरूमाथि कडा निगरानी, नियमित परीक्षण र त्यसको नतिजा पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरिन्।
“सहरमा पिउने पानीको प्रशोधन प्रणाली सुदृढ पार्न सरकारले ठोस पहल गर्नुपर्छ,” सांसद गौतमले भनिन्, “साथै सुरक्षित खानेपानीबारे व्यापक जनचेतना अभियान सञ्चालन गरियोस्। यो केवल स्वास्थ्यको प्रश्न होइन, नागरिकको सुरक्षित पानी पिउने संवैधानिक अधिकारको रक्षा गर्न सरकारको कर्तव्य पनि हो।”



कागजपत्र |
