हायू परिवारबारेकाे टिप्पणीप्रति समाजको आपत्ति


काठमाडौं- हायू समाज नेपालले सिन्धुलीकी उर्मिला हायू र उनको परिवारको विषयमा भएको गलत टिका–टिप्पणीप्रति आपत्ति जनाएको छ।

समाजले बुधबार विज्ञप्ति जारी गर्दै गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएको भनिएको हायू परिवार कास्कीको पोखरा महानगरपालिका–३० गगनगौडामा सकुशल भेटिएको जनाउँदै, उनीहरूलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गरिएको पूर्वाग्राही टिप्पणी अनुचित भएको जनाएको हो।

हायू समाज नेपालका अध्यक्ष लक्ष्मण हायूले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “आधारहीन प्रचारले हायू परिवार मात्र हैरान भएको छैन, यसले पूरै समुदायको भावना र सम्मानमाथि पनि प्रहार गरेको छ।”

उक्त १६ सदस्यीय हायू परिवार केही समयदेखि सम्पर्कविहीन रहेकोमा मंगलबार साँझ पोखरामा फेला परेको थियो। परिवारका सदस्यहरूले आफूहरू कामको सिलसिलामा पोखरा आएको जानकारी प्रहरीलाई दिएका छन्।

हायू समाजले यस विषयमा अनावश्यक हल्ला र पूर्वाग्रहजन्य टिप्पणी नगरिनु पर्नेमा जोड दिँदै परिवारको पुनर्स्थापना र उचित व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गर्न माग गरेको छ।

प्रतिक्रिया