थारू समुदायको ‘गुरही’ आज, कैलालीका स्थानीय तहमा सार्वजनिक बिदा


कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।

थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।

यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उनको भनाइ छ ।

पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिएका छन् ।

प्रतिक्रिया