
काठमाडौंभित्र सार्वजनिक स्थलमा धूमपान गरे प्रत्येक पटक पाँचसय जरिवाना तिर्नुपर्ने
काठमाडौं – अब काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धूमपान गरे प्रतिपटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। हालै सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत यो व्यवस्था लागू गरिएको हो।
महानगरभित्र सार्वजनिक स्थानमा अत्यधिक धूमपान भइरहेको र त्यसबारे जनगुनासा बढेपछि महानगरले ऐनमार्फत कडाइ गर्ने निर्णय गरेको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने प्रावधान पहिले देखिनै रहे पनि कार्यान्वयनमा कमजोरी देखिएपछि अब प्रतिपटक पाँच सय रुपैयाँ जरिवाना लिने निर्णय गरिएको हो।
‘निजी सम्पत्ति बाहेकका सबै सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको छ,’ पाण्डेले भने, ‘तर हटलाइनमा पटक–पटक गुनासा आउन थालेपछि कडाइ गर्नुपर्ने अवस्था आएको हो।’
सार्वजनिक स्थलमा मात्र होइन, महानगरले पार्किङ, विज्ञापन र सार्वजनिक स्थानको संरक्षणसम्बन्धी विषयमा समेत नयाँ जरिवाना व्यवस्था ल्याएको छ। तोकिएको स्थान बाहेक पार्किङ गरेमा सवारी साधनअनुसार जरिवाना तोकिएको छ।
अब मोटरसाइकल, स्कुटर जस्ता दुईपांग्रे सवारीका लागि एक हजार रुपैयाँ, कार, जीप, भ्यान जस्ता सवारीका लागि दुई हजार पाँच सय, मिनीबस, मिनीट्रक जस्ता मझौला सवारीका लागि तीन हजार पाँच सय र बस, ट्रक जस्ता ठूला सवारीका लागि पाँच हजार रुपैयाँ जरिवाना लाग्नेछ।
त्यस्तै, बिना स्वीकृति सार्वजनिक स्थलमा गरिएको विज्ञापन तथा प्रचार सामग्री टाँस्ने, वितरण गर्ने, होर्डिङ बोर्ड राख्ने, पेन्टिङ वा लेखन गर्ने, बेलुन वा यस्तै माध्यमबाट विज्ञापन गर्ने कार्यमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ।
महानगरले गेट, स्वागतद्वार, पोष्टर, पम्प्लेट टाँस गर्ने र रूख–बिरुवामा क्षति पुर्याउने कार्यमा पनि कडाइ गर्दै पाँच सयदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।
महानगरले ऐन कार्यान्वयन गर्नका लागि महानगर प्रहरीलाई निर्देशन दिइसकेको छ र नागरिकलाई सार्वजनिक स्थानको सरसफाइ, शान्ति र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।



कागजपत्र |
