भ्रष्टाचार गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले गाला मुसारेर राखेका छन् : सांसद आलेमगर


काठमाडौं- नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन्।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद आलेले “म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ, भ्रष्टाचारको मुख पनि हेर्दिनँ” भन्ने साइनबोर्डहरू झिकेर फाल्न सुझाव दिए। उनले भने, “किनभने अहिले देशमा जताततै भ्रष्टाचार छ्याल्लब्याल्ल देखिन्छ। यस्तो अवस्थामा ती साइनबोर्डको कुनै अर्थ छैन।”

उनले विशेष गरी सत्तारूढ दल र प्रधानमन्त्री स्वयंले भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई संरक्षण गरिरहेको आरोप लगाए। सांसद आलेले प्रधानमन्त्रीमाथि कटाक्ष गर्दै भने, “भ्रष्टाचार गर्ने एक जना मन्त्रीलाई प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन, मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमै राख्नुहुन्छ। जब थेग्नै नसक्ने हुन्छ, तब निलम्बन गर्नुहुन्छ।”

उनले कास्कीको पोखरास्थित लिचीबारी क्षेत्रको १३४ रोपनी सरकारी जमिन हडप्ने प्रयत्नका क्रममा भएको भनिएको घुस लेनदेनको अडियो प्रकरण उठाउँदै सरकारको चरित्र प्रश्न गरेका हुन्।

यस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आरोप लागेपछि राजीनामा दिइसकेका छन्। तर सांसद आलेका अनुसार अर्का एक मन्त्री बलराम अधिकारी पनि यसै प्रकरणमा मुछिएका छन्। उनले भने, “अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ, उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन, थाहा छैन।”

 

 

प्रतिक्रिया