
हितेन्द्र शाक्यले सार्वजनिक गरे १०० दिने उपलब्धि
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्नो कार्यकालका १०० दिनको उपलब्धि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। उनले प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको जानकारी दिए। यस श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत सेवा, वित्तीय व्यवस्थापन र मानव स्रोत व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ।
शाक्यले वितरण तथा ग्राहक सेवामा १० वटा उद्योगीलाई बढी महसुल बुझाउने भएकाले सम्मान गरिएको र यसले विद्युत खपतमा वृद्धि ल्याउने अपेक्षा रहेको बताए। साथै, डेडिकेटेड लाइन सम्बन्धी विवाद समाधानमा काम भइरहेको, चार्जिङ स्टेशनका पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको र ९०० गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको जानकारी दिए। स्मार्ट मिटरको पहुँच बढाइएको र वितरण प्रणाली चुस्तदुरुस्त बनाइएको उनले उल्लेख गरे।
तर, चीनबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका जलविद्युत आयोजना तथा उत्पादनमा ठूला क्षति पुगेको छ। रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) सबैभन्दा बढी प्रभावित भएको छ जहाँ बाँधको गेट बगाएको र ड्याममा क्षति पुगेको छ। साथै, त्रिशूली कोरिडोरमा रहेका रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली ‘थ्री ए’ जस्ता आयोजनाहरू बन्द अवस्थामा छन्। माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा दुई गेट बगाएको र क्षति पुगेको छ भने तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ।
यद्यपि, यी क्षति हुँदाहुँदै पनि शाक्यले देशभर विद्युतको माग व्यवस्थापनमा समस्या नदेखिएको र आवश्यक व्यवस्था भइरहेको बताए।



कागजपत्र |
