
हवाई सेवा कूटनीतिक सन्देश हो, विधेयक टुंगिनु अत्यावश्यक : सांसद किराँती
काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र छविसँग जोडिएको अत्यन्त संवेदनशील विषय भएको बताएका छन्। शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाल कालो सूचीमा परिरहँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश फैलिरहेको बताए।
“१२ वर्षभन्दा बढी बितिसक्यो, तर यो विधेयक अझै टुंगिएको छैन,” सांसद किराँतीले भने, “नेपाल कामै नगर्ने देश हो भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा गइरहेको छ। कालो सूचीको असर मुख्यतः नेपाल वायुसेवा निगममा परेको छ। अरु निजी कम्पनीहरूसँग त जहाज नै छैन, विदेशी जहाज रोकिएको पनि छैन। तर हाम्रो ध्वजावाहकलाई मात्रै रोकिएको छ।”
उनले हवाई सेवा प्रभावकारी बनाउन र विकासका लागि विधेयक पारित गर्नु जरुरी रहेको बताए। तर, विधेयक पारित गर्ने हतारोमा त्रुटिपूर्ण ढंगले प्रक्रिया अघि बढाउन नहुने पनि सांसद किराँतीको भनाइ थियो।



कागजपत्र |
