काभ्रेको पाँचखालमा बस दुर्घटना : ८ जना घाइते, चालक प्रहरी नियन्त्रणमा


काठमाडौं— काभ्रेको पाँचखालमा यात्रुबस दुर्घटनामा परेर ८ जना घाइते भएका छन्। बुधबार बिहान अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी पाँचखाल पोलिक्लिनिकमा उपचारका लागि पठाइएको थियो। उनीहरू सबैको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट मेलम्चीतर्फ गइरहेको बसमा ३५ जना यात्रु सवार थिए। बसका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ निवासी ३० वर्षीय मनोज बराईलीलाई प्रहरीको नियन्त्रणमा लिइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार तीव्र गति र मोडमा नियन्त्रण गुमाउँदा बस पल्टिएको अनुमान गरिएको छ।

प्रतिक्रिया