सन्तुलित बजेट ल्याएका छौं, अझ सुधार गरिन्छ :प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट सन्तुलित बनाउन प्रयास गरिएको स्पष्ट पार्दै माग र आपूर्तिबीच सन्तुलन कायम गर्न आगामी दिनमा थप प्रयास गरिने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक तथा खर्च कटौती प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बजेट सीमित स्रोत र साधनका कारण सबै सांसदलाई सन्तुष्ट पार्न नसकिएको उल्लेख गरे।

“हामी धेरै ठाउँमा छिटो विकास चाहन्छौं, तर बजेट सीमित छ,” उनले भने, “त्यसैले सबैको अपेक्षा पूरा नहुन सक्छ। माग र आपूर्तिको सन्तुलन मिलाउन अब ध्यान दिइनेछ।”

प्रधानमन्त्री ओलीले निजी क्षेत्र र वैदेशिक लगानीको आवश्यकता औंल्याउँदै लगानी बोर्डलाई थप प्रभावकारी बनाइने जानकारी दिए। संसद जनताको बलिदान र सपना साकार पार्ने थलो भएकाले यसलाई कमजोर बनाउने टिप्पणी नगर्न उनले आग्रह गरे।

“संविधान र प्रणालीको अपमान सहन सकिँदैन। बरु ममाथि गाली होस्, तर जनताको बलिदानको अपमान स्वीकार्य छैन,” उनले जोड दिए।

प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको योजना बैंकमार्फत अब तीन करोडभन्दा कम लागतका आयोजना नराख्ने नीति अवलम्बन गरिएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार लागिपरेको बताए। उनले सरकार कुनैको विरुद्ध खेलमा नभएको भन्दै भ्रम सिर्जना नगर्न आग्रह गरे।

प्रतिक्रिया