
‘७२ जिल्ला लिजमा दिऊँ’ भन्ने सांसद अमरेशको अभिव्यक्ति संसद रेकर्डबाट हटाइयो
काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दिएका विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। बजेटमाथि छलफलको क्रममा सिंहले शीर्ष नेताहरूको जिल्ला बाहेक अन्य जिल्लाहरूलाई विदेशी देशलाई लिजमा दिनुपर्ने टिप्पणी गरेका थिए।
सिंहले भनेका थिए, “नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु — भाग्यमानी चार/पाँच जिल्ला नेपालमै राखौँ, बाँकी ७२ जिल्लालाई अमेरिकालाई, भारतलाई वा चीनलाई लिजमा दिऊँ।”
सिंहको अभिव्यक्तिपछि सत्तारूढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले त्यसलाई आपत्तिजनक र देशद्रोही बताउँदै संसदको रेकर्डबाट हटाउन र सांसद सिंहमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए।
“देशलाई लिजमा दिनुपर्छ भन्ने कुरा देशद्रोही अभिव्यक्ति हो,” बर्तौलाले भने, “यो कारबाहीको विषय हो। उहाँलाई अगाडि बोल्न नदिई कारबाही अगाडि बढाइनुपर्छ।”
बर्तौलाको मागपछि सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्ति असंसदीय रहेको भन्दै संसद सचिवालयलाई त्यसलाई रेकर्डबाट हटाउन निर्देशन दिए। सभामुख घिमिरेले भने, “यो असंसदीय भाषा हो। मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।”
संसद सचिवालयले सिंहको अभिव्यक्ति अब हटाइसकेको जनाएको छ।



कागजपत्र |
