


काफ्लेको संयोजकत्वमा निलम्बित नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन समिति गठन

काठमाडौं — काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन् ।
‘राजु पाण्डेमाथि छानबिन गरी सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो,’ महानगरका एक उच्च अधिकारीले भने ।
काफ्ले महानगरका सहायक प्रवक्ता पनि हुन् । उनले समितिबारे अनौपचारिक जानकारी पाए पनि अहिलेसम्म चिठी नपाएको बताए ।
‘समिति बन्यो भन्ने सुनेको छु । तर, म कहाँ चिठी आइपुगेको छैन । अन्य सदस्यको नामसहित चिठी आउला,’ काफ्लेले भने ।
महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा ४ बमोजिम जाँचबुझ समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत निकट स्रोत बताउँछ ।
०८१ चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेपछि नगरप्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै उनलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।

