


रवि लामिछानेले मागे डिल्लीबजार कारागार सरुवा

काठमाडौं — सहकारी ठगी प्रकरणमा पुर्पक्ष थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रूपन्देहीबाट काठमाडौँ डिल्लीबजार कारागारमा सरुवा गरिदिन अनुरोध गरेका छन्।
रूपन्देही जिल्ला कारागारले आइतवार कारागार व्यवस्थापन विभागलाई पत्र पठाएको भए पनि तीन दिन बितिसक्दा पनि विभागले निर्णय गरेको छैन।
कारागार स्रोतका अनुसार लामिछानेले आफैँ काठमाडौँ कारागारमा जान चाहेको भन्दै निवेदन दिएका थिए। त्यसकै आधारमा रूपन्देही प्रशासनले केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो।
सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछाने उच्च अदालत तुलसीपुरको आदेशमा थुनामा परेका हुन्। यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उच्च अदालतले सो आदेश बदर गर्दै पुर्पक्ष थुनाको आदेश दिएको थियो। उक्त आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरेपछि उनी हाल कारागारमै छन्।

