


गाडी सञ्चालनबारे सहमति भए पनि व्यवसायीले उल्लंघन गरिरहेको मन्त्रीको गुनासो

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशभर सार्वजनिक यातायात ठप्प पारिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार बसेको संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा उनले सरकार र यातायात व्यवसायीबीच गाडी सञ्चालन गर्ने सहमति भइसकेको भए पनि, व्यवहारमा त्यो कार्यान्वयन नहुँदा असन्तुष्टि व्यक्त गरे।
“सरकार र व्यवसायीबीच गण्डकी प्रदेशको आन्दोलनलाई हाललाई स्थगित गर्ने र संघीय कानुनमार्फत समस्याको दीर्घकालीन समाधान गर्ने समझदारी भइसकेको हो। यस्तो अवस्थामा गाडी नचलाउनु गलत हो,” मन्त्री दाहालले भने।
उनले सवारी तथा सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न तयार पारिएको नयाँ विधेयकमार्फत राइड सेयरिङ सेवालाई पनि राज्यको कानुनी दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए।
“राइड सेयरिङ सेवाबाट जनता लाभान्वित भइरहेका छन्। तर, यो सेवा अनियमित रूपमा सञ्चालन हुँदै आएको छ। अब यसलाई नियमन गर्न आवश्यक छ। राज्यको निगरानीमा ल्याएर व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्छ,” मन्त्री दाहालको भनाइ थियो।
मन्त्रीको अनुसार, सवारी क्षेत्रको सुधारका लागि सरकारले विभिन्न प्रयास गरिरहेको छ, जसमा कानुनी संशोधन, नियमन र व्यवसायीहरूसँगको संवाद प्रमुख रहेका छन्।

