

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा २ को मृत्यु, १४ घाइते

मकवानपुर — मकवानपुरको मकवानपुरगढीमा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
कान्तिलोकपथ खडक खण्डमा पर्ने मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको ईभी गाडी दुर्घटना भएको हो ।
सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल नजिक खोल्सामा बालिकाको शव फेला परेको हो भने निलमको हेटौँडा अस्पतालमा उपचाको क्रममा आज बिहान ४ बजतिर मृत्यु भएको बताइएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जना सवार गाडी सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।

