

काठमाडौंका सबै पालिकामा अब अनलाइनबाटै नागरिकता सिफारिस

काठमाडौं- काठमाडौंमा आजदेखि नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिबाट अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार (वैशाख २)देखि लागू हुनेगरी काठमाडौंका ११ वटै पालिकामा अनलाइन सिफारिस अनिवार्य गरेको हो ।
आजदेखि हस्तलिखित फाराम स्वीकार नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकासहित ११ पालिकालाई नागरिकता प्रमाणपत्रका लागि अनलाइनमार्फत सिफारिस गर्न पत्राचारसमेत गरिसकेको छ । ‘नगरपालिकाअन्तर्गतका कतिपय वडाहरूबाट हालसम्म पनि हस्तलिखित सिफारिस आइरहेकाले मिति २०८२ वैशाख २ गतेदेखि हस्तलिखित सिफारिसबाट नागरिकता प्रमाणपत्र जारी नगरिने भएकोले अनिवार्य रूपमा अनलाइन सिफारिस गर्ने व्यवस्था मिलाउनु हुन आदेशअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
सरकारले देशभरि नागरिकता प्रमाणपत्रलाई अनलाइन प्रविधिमा जोड्ने नीति अपनाएको छ । गृह मन्त्रालयले यस कार्य लागि आफू मातहतका निकायलाई निर्देशन दिइसकेको छ । सोही निर्देशनअनुसार प्रशासन कार्यालयहरूले नागरिक प्रमाणपत्र सिफारिसलाई अनलाइन प्रविधिमा जोड्ने कार्य गरिरहेको हो ।

