एसईईमा डिजीटल माध्यमबाट चिट, ह्वाट्सएपमार्फत चिट चोराउने दुई निरीक्षक पक्राउ


काठमाडौं-  यस वर्षको एसईई परीक्षामा चिट चोराइको नयाँ तरिका सार्वजनिक भएको छ । परम्परागत रूपमा पर्खाल नाघेर चिट चोर्ने दृश्य भाइरल भइसकेको भए पनि, अब प्रविधिको प्रयोग गरी ह्वाट्सएपमार्फत चिट चोराउने कार्य भएको खुलासा भएको छ ।

बारा प्रशासनले ह्वाट्सएप ग्रुपमार्फत चिट चोराउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पन्नादेवी कन्या मावि परीक्षा केन्द्रकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रूपमा खटिएका सौरभ छन् । दुवै जनाले गल्ती स्वीकार गरिसकेका छन् र उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।

ह्वाट्सएप प्रयोग गरी कसरी भयो चिट प्रकरण ?
परीक्षा अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कलैयास्थित पन्नादेवी कन्या मावि केन्द्रमा डिजिटल माध्ययम प्रयोग गरी चिट चोराउने गतिविधि भइरहेको सूचना पाएपछि निगरानी बढाएका थिए । सोही क्रममा निरीक्षक रञ्जु कुमारी र सौरभलाई रंगेहात पक्राउ गरिएको हो ।

छानबिनका क्रममा उनीहरूले ‘साथी’ नामक ह्वाट्सएप ग्रुप बनाइ प्रश्नपत्रको फोटो खिचेर पठाउने, त्यसपछि प्राप्त उत्तर परीक्षार्थीलाई सार्न दिने गरेको खुलेको छ । विशेष रूपमा, निरीक्षक रञ्जु कुमारीले आफ्नै छोरीलाई चिट चोराउन सहयोग गरेको पाइएको छ ।

परीक्षामा प्रविधिको दुरुपयोग हुन थालेपछि बारा प्रशासनले अन्य केन्द्रहरूमा पनि कडाइका साथ निगरानी बढाउने जनाएको छ ।

प्रतिक्रिया