न्यायाधीशलाई २ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई बार काउन्सिलको नसिहत
काठमाडौं – कानुन व्यवसायी परिषद्ले गठन गरेको अनुशासन समितिले जिल्ला अदालत काठमाडौंका न्यायाधीशलाई घुसको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतको सजायमात्र गर्ने निर्णय गरेको छ । उनलाई कानुन व्यवसायी आचारसंहिता र नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा ११ बमोजिम उक्त सजाय गरेको हो ।
नेपाल बारका पूर्वपदाधिकारी समेत रहेका उनले २०७९ असारमा जिल्ला अदालत काठमाडौँका तत्कालीन न्यायाधीश राजकुमार कोइरालालाई दुई करोड घुसको अफर गरेका थिए ।
सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कोइरालालाई दुई करोड घुस दिने प्रस्ताव गरेका थिए । तर न्यायाधीशले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाएपछि यो घटना बाहिरिएको थियो ।
मंगलबार काउन्सिलले उनलाई कानुन व्यवसायीको अचारसंहिताअनुसार नसिहत दिने निर्णय गरेको सचिव श्रीराम खनालले जानकारी दिए । तामाङलाई १० करोड धरौटीमा छाडे दुई करोड घुस दिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि न्याय परिषद् र नेपाल बार काउन्सिल दुवैले छानबिन गरेको थियो । न्याय परिषद्ले न्यायाधीशको संलग्नता नदेखिएको भनि उनलाई सचेत गराएर काममा फर्काएको थियो भने कानुन व्यवसायी पोखरेललाई बहसमा रोक लगाएको थियो ।
परिषद्ले कोइरालालाई क्लिन चिट दिएकाले अधिवक्ता पोखरेललाई पनि नसिहत मात्रै दिने निर्णय भएको हो । ऐनको दफा १३ मा कानुन व्यवसायीको प्रमाणपत्र रद्द गर्ने सजाय गर्नसक्ने व्यवस्था भएपनि नसिहतमात्र दिएको हो ।