दीपक मनाङे डिल्लीबजार कारागार चलान


काठमाडौं —गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै फरार रहेका मनाङे आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका थिए । मनाङेलाई पक्राउ गरेसँगै सिआईबी कार्यालय लगिएको थियो ।

त्यसपछि सिआईबीले अदालतमा पेश गरेसँगै कारागार चलान गरिएको हो ।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

मनाङे यसअघि भुक्तान गरिसकेको ३१ महिना २९ दिन सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।

पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

प्रतिक्रिया