१५ सिट क्षमताको गाडीमा ३४ जना सवार, ४ जनाको मृत्यु भएपछि आफन्त आन्दोलित


काठमाडौँ- दैलेखबाट सुर्खेत जाँदै  गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटना भएसँगै आज आन्दोलन भएको छ ।

गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । उनीहरूले प्रहरीले लापरबाही गर्दा दुर्घटना भएको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरूले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नु पर्ने लगायतका माग राखेका छन् ।

शुक्रबार रातानाग्लामा कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगिता विष्टको मृत्यु भएको थियो ।

फोर्स गाडीमा जम्मा १५ सिटको क्षमता भए पनि ३४ जना सवार थिए ।

 

 

प्रतिक्रिया